
राजीनामासँगै युनुसको विवादास्पद बयान, ‘सेभेन सिस्टर्स’ ले भारतमा तरंग
काठमाडौं- बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले सोमबार पदबाट राजीनामा दिँदै गरेको विदाई भाषणले छिमेकी भारतमा राजनीतिक र कूटनीतिक तरंग सिर्जना गरेको छ। युनुसले विदाई भाषणमा भारतको नाम नलिई पूर्वोत्तर भारतका सात राज्यहरूलाई ‘सेभेन सिस्टर्स’ भन्दै स्वतन्त्र अस्तित्वको संकेत गर्ने अभिव्यक्ति दिएका हुन्।
विदाई भाषणमा युनुसले भने, “हाम्रो खुला समुद्र बंगलादेशको भौगोलिक सीमामात्र होइन, विश्व अर्थतन्त्रसँग जोडिने खुला ढोका पनि हो। नेपाल, भुटान र सेभेन सिस्टर्ससँग यो क्षेत्र अपार आर्थिक सम्भावना बोकेको छ।” युनुसको यो अभिव्यक्तिलाई भारतप्रति छेडखानीको रूपमा व्याख्या गरिएको छ।
पूर्वोत्तर भारतका सात राज्यहरू अरुणाचल प्रदेश, आसाम, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड र त्रिपुरालाई सामूहिक रूपमा ‘सेभेन सिस्टर्स’ भनिन्छ। तर युनुसले भारतको नाम नलिई ती राज्यहरूलाई अलग्गै उल्लेख गरेपछि भारतीय मिडिया र राजनीतिक वृत्तमा चासो र आलोचना बढेको छ। बीबीसी हिन्दीका अनुसार भारतको नाम नलिई सेभेन सिस्टर्सको उल्लेख गर्नुले यी राज्यहरूलाई भारतभित्र फरक राष्ट्रिय पहिचानका रूपमा हेर्ने संकेत गर्छ।
यो पहिलोपटक होइन जब युनुसले सेभेन सिस्टर्सको प्रसंग उठाएका हुन्। गत वर्ष मार्च २६ देखि २९ सम्म चीनको भ्रमणका क्रममा उनले सेभेन सिस्टर्स समुद्रसँग जोडिन नसकेको र बंगलादेश नै यस क्षेत्रको ‘संरक्षक’ भएको दाबी गरेका थिए। “भारतका सेभेन सिस्टर्स राज्यहरू भूपरिवेष्ठित छन्। उनीहरूको समुद्रमा पहुँच छैन। हामी यस क्षेत्रका संरक्षक हौँ,” युनुसको भनाइ थियो।
युनुसको उक्त अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाउँदै आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले यसलाई आपत्तिजनक र निन्दनीय भनेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यस्ता उत्तेजक टिप्पणीलाई हल्का रूपमा लिनु हुँदैन, किनकि यसले गहिरो रणनीतिक सोच र दीर्घकालीन एजेन्डालाई संकेत गर्छ।”
भारतको उत्तरपूर्वी क्षेत्र विशेष रूपमा संवेदनशील मानिन्छ, मुख्यतः सिलिगुडी करिडोरका कारण। केवल २२ किलोमिटर चौडा यो करिडोर उत्तरपूर्वी भारत र बाँकी भारतबीचको एकमात्र स्थल सम्पर्क मार्ग हो, जसलाई ‘चिकेन नेक’ पनि भनिन्छ। यस करिडोरसँग बंगलादेश र नेपाल जोडिएका छन् भने भुटान र चीन पनि नजिकै छन्।
भौगोलिक रूपमा सेभेन सिस्टर्स राज्यहरू बंगलादेश, भुटान, चीन र म्यानमारले घेरिएका छन्। चीनले यसअघि नै अरुणाचल प्रदेशलाई आफ्नो भूभाग दाबी गर्दै ‘दक्षिणी तिब्बत’ भनेर उल्लेख गरिसकेको छ। यस्तो संवेदनशील पृष्ठभूमिमा युनुसको विदाई भाषणलाई भारतमा गम्भीर रूपमा हेरिएको छ।
यद्यपि, व्यवहारिक पक्षमा हेर्दा बंगलादेश भारतको हवाई यातायातमा निर्भर छ भने भारतका धेरै उत्तरपूर्वी राज्यहरू बंगलादेश हुँदै आवतजावत गर्न सहज मानिन्छ। दुवै देशबीचको यही परस्पर निर्भरता बीच युनुसको टिप्पणीले क्षेत्रीय राजनीति थप चर्किने संकेत देखिएको छ।



कागजपत्र |
