श्रीमती जिस्काएको निहुँमा प्रहरी हवल्दारको हत्या


दार्चुला– महाकाली नगरपालिका–४ मा नेपाल प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार पक्राउ पर्नेमा महाकाली–४ का २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बम रहेका छन्।

घटनामा संलग्न अन्य चार जना फरार रहेका छन्। उनीहरूमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठो श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल रहेका छन्। प्रहरीले पुष्टि गरेको छ कि पक्राउ परेकी दिपिका पाल आशिक पालकी कान्छी श्रीमती हुन्।

प्रारम्भिक अनुसन्धानका अनुसार अस्मिता बियर बारमा कान्छी श्रीमती दिपिकालाई जिस्काएको भन्दै उनका श्रीमान आशिकले प्रहरी हवल्दार घर्तीमाथि कुटपिट गरेको हुनसक्ने देखिएको छ।

पक्राउ परेकाहरूले आशिक र उनका भाइले कुटपिट गरेर हत्या गरेको बयान दिएका छन्, तर त्यसको सत्यापनका लागि परीक्षण कार्य जारी रहेको एसएसपी विष्टले बताए। घटनास्थलको अनुसन्धानबाट घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ।

घटनापछि फरार रहेका चार जनाको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया