
जेनजी प्रदर्शनमा पत्नीको मृत्यु, भारतीय नागरिकले मागे १०० करोड भारु क्षतिपूर्ति
काठमाडौं- गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा पत्नी गुमाएका भारतीय नागरिक रणवीर सिंह गोलाले १०० करोड भारु क्षतिपूर्ति मागसहित दिल्ली उच्च न्यायालयमा मुद्दा दर्ता गराएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रणवीरले भदौ २४ गते आफ्नी पत्नी राजेश गोलाको मृत्यु भएको उल्लेख गर्दै रिट निवेदनमा घटनाको विवरण प्रस्तुत गरेका छन्। उनका दाबी अनुसार होटलको चौथो तलाबाट पत्नी खसेका हुन्। उनले भनेका छन् कि होटलमा आगजनी सुरु भएपछि माथिल्लो तलामा जान बाध्य भए, लामो समय उद्धार नहुँदा हामफाल्ने क्रममा पत्नीको मृत्यु भएको हो।
रणवीरले मुद्दामा भारतीय विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय दूतावास र काठमाडौंस्थित हयात रिजेन्सी होटललाई विपक्षी बनाएका छन्। उनका अनुसार होटल प्रशासनले पाहुनाहरूको सुरक्षा सुनिश्चित गर्ने आश्वासन दिएको भए पनि ‘चेकआउट’ गर्नबाट रोक्यो र आगजनी सुरु भएपछि माथिल्लो तलामा पठाएको छ। उनले भारतीय दूतावास र विदेश मन्त्रालयसँग पटक–पटक उद्धारको माग गर्दा पनि कुनै मद्दत नपाएको उल्लेख गरेका छन्।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सोमबार दिल्ली उच्च न्यायालयका न्यायाधीश पुरुषैन्द्र कुमार कौरवको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो।
न्यायाधीश कौरवले नेपालमा भएको घटनामा आफ्नो क्षेत्राधिकार के हो भन्ने प्रश्न उठाएका थिए। उनले रिट निवेदनमा हयात होटललाई विपक्षी बनाएकोमा समेत आपत्ति जनाएका छन्।
अन्ततः न्यायाधीशले रिट निवेदनमा आवश्यक संशोधन गर्नुपर्ने औँल्याउँदै सुनुवाइ २६ फेब्रुअरीसम्म स्थगित गरेका छन्। अदालतले आवश्यक संशोधन गरेपछि मात्र आगामी सुनुवाइ हुने बताएकाे छ।



कागजपत्र |
