
दार्चुलामा प्रहरी हवल्दारको हत्या: तीन जना पक्राउ
दार्चुला– दार्चुलामा मृत फेला परेको नेपाल प्रहरी हवल्दारको हत्या भएको पुष्टि भएको छ। सामुदायिक प्रहरी केन्द्रमा कार्यरत हवल्दार योगेन्द्र घर्तीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर बिष्टका अनुसार हत्या आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा महाकाली–४ का दीपिका फर्सवान, मानमती आउजी र प्रेमबहादुर बोहरा रहेका छन्।
घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेको एसएसपी बिष्टले बताए। उनले भने, “टाउकोमा धारिलो हतियार प्रहार गरिएको छ। जिल्लाको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।”
प्रारम्भिक अनुसन्धानबाट घटनामा महिलासँगको विवाद समावेश हुन सक्ने संकेत देखिएको बताइएको छ। हवल्दार घर्ती महाकाली नगरपालिका–४ बांगाबगरस्थित एक होटलको पछाडि मृत भेटिएका थिए।



कागजपत्र |
