
सनम शाक्य हत्या प्रकरण: गोरेलाई अपहरण मुद्दामा थप १० वर्ष कैद
विराटनगर- ३३ किलो सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याएको छ।
आइतबार राति सार्वजनिक भएको फैसलाअनुसार यस प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद सजाय सुनाइएको छ। यसअघि जिल्ला अदालत मोरङले उनलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद (२० वर्ष) सजाय सुनाएको थियो।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले माघ २० गतेदेखि निरन्तर सुनुवाइपछि आइतबार फैसला सुनाएको हो।
उच्च अदालतले जिल्ला अदालतबाट जन्मकैद सजाय पाएका केही प्रतिवादीहरूको हकमा भने सजाय घटाएको छ। नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको पुनरावेदनमा सुनुवाइ गर्दै अदालतले उनीहरूलाई १०–१० वर्ष कैद सजाय तोकेको छ। यसअघि जिल्ला अदालतले उनीहरूलाई २० वर्ष कैद सजाय सुनाएको थियो।
त्यस्तै, कर्तव्य ज्यान मुद्दामा मतियारका रूपमा संलग्न देखिएका मदन सिलवालको हकमा जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले ३ वर्ष कैद सजाय सुनाएको छ। लाक्पा शेर्पा र भविन तामाङले दिएको पुनरावेदन भने अदालतले खारेज गरिदिएको छ, जसका कारण उनीहरूको हकमा जिल्ला अदालतकै फैसला सदर भएको छ।
यसैबीच अदालतले करिब ३८ क्विन्टल सुन तस्करीसँग जोडिएको संगठित अपराध र भन्सार चोरी निकासीसम्बन्धी मुद्दामा भने सबै प्रतिवादीको हकमा दाबी नपुग्ने ठहर गरेको छ।
यसअघि जिल्ला अदालतले पनि उक्त मुद्दामा पूर्वप्रहरी अधिकारी र व्यापारीसहित अधिकांश प्रतिवादीलाई सफाइ दिएको थियो। उच्च अदालतले जिल्ला अदालतको सोही फैसलालाई सदर गरेको हो।
सफाइ पाउनेहरूमा पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपी सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायत उच्च प्रहरी अधिकारीहरू रहेका छन्।
२०७४ साल माघ ९ गते दुबईबाट तस्करी गरी ल्याइएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा बेपत्ता भएको थियो। सोही सुनको खोजीका क्रममा गोरे नेतृत्वको समूहले २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यलाई करेन्ट लगाएर अमानवीय यातना दिँदै हत्या गरेको थियो।
अनुसन्धानका क्रममा उक्त समूहले सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्म करिब ३८ क्विन्टल (३७ लाख ९९ हजार ५ सय ६३ ग्राम) सुन अवैध रूपमा नेपाल भित्र्याएको खुलेको थियो।
यस प्रकरणको छानबिनका लागि सरकारले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष समिति गठन गरेको थियो। प्रहरीले ७७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरे पनि तस्करी भएको भनिएको ३३ किलो सुन भने हालसम्म फेला पर्न सकेको छैन।



कागजपत्र |
