
अमेरिका, बेलायत र पोर्चुगल पठाउने प्रलोभनमा लाखौँ ठगी, पाँच जना पक्राउ
काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ललितपुरको धापाखेल बस्दै आएकी काठमाडौं कीर्तिपुर नगरपालिका–२ घर भएकी ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ बस्ने बागलुङ काठेखोला गाउँपालिका–२ घर भएकी ४३ वर्षीया कोपिला शर्मा, काठमाडौं महानगरपालिका–२६ बस्ने धनकुटा नगरपालिका–२ घर भएका ३१ वर्षीय सन्तोष राई र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने काभ्रे चौंरीदेउरी गाउँपालिका–९ घर भएकी ४८ वर्षीया कुमारी तामाङ रहेका छन्।
प्रहरीका अनुसार विना र विन्दाले अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट १० लाख रुपैयाँ, कोपिलाले बेलायत पठाइदिन्छु भन्दै एक जना पीडितबाट १३ लाख रुपैयाँ, सन्तोषले कम्बोडिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ३ लाख ७० हजार रुपैयाँ र कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १३ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरी परेका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले विना र विन्दालाई काठमाडौं महानगरपालिका–११ बाट तथा कुमारी तामाङलाई काठमाडौं महानगरपालिका–४ बाट आइतबार पक्राउ गरेको हो। त्यस्तै, कोपिला शर्मालाई काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ बाट र सन्तोष राईलाई काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ।



कागजपत्र |
