
प्यूठानमा १९ वर्षीया शर्मिला घर्तीको हत्या, श्रीमान् र देवर पक्राउ
प्यूठान – गौमुखी गाउँपालिका–६ लिबाङकी १९ वर्षीया शर्मिला घर्तीको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् र देवरलाई पक्राउ गरेको छ। हत्या अभियोगमा २० वर्षीय श्रीमान् अनिल घर्ती र १८ वर्षीय देवर जनक घर्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
प्रहरीका अनुसार माघ १६ गते साँझ करिब ८ बजे शर्मिलालाई ‘घुम्न जाऔँ’ भन्दै घरबाटै लिएर गोन्द्रेचौर पुर्याइएको थियो। प्रारम्भिक अनुसन्धानबाट शर्मिलालाई भीरबाट धकेली हत्या गरिएको खुलेको प्यूठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार, पहिलो पटक धकेल्दा उनी करिब ३० मिटर तल अड्किएकी थिइन्। त्यसपछि पुनः धकेल्दा उनी करिब १०० मिटर तल खसेकी थिइन्।
पक्राउ परेका दुवै जनालाई अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।



कागजपत्र |
