नवलपुरमा १४ जनाको परिक्षणमा तीन जनामा कोरोना पोजेटिभ


नवलपुर – कोरोना संक्रमणको दोस्रो लहर नेपालमा पनि देखापरेको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरिरहेका बेला पूर्वी नवलपरासीको कावासोतीमा पनि नयाँ कोरोना संक्रमित फेला परेका छन् । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको भन्दै जिल्लावासीमा पुनः त्रासदी थपिएको छ ।

कावासोती नगरपालिका १६ डण्डास्थित मध्यबिन्दु जिल्ला अस्पतालमा तीन जना कोरोना संक्रमित फेला परेका हुन् । नवलपरासीपूर्वका १४ जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको मध्यबिन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत एवम् सूचना अधिकारी छबिलाल सुवेदीले बताए ।

आज संक्रमण पुष्टि हुनेमा कावासोती नगरपालिका १६ का ४१ वर्षीया महिला, देवचुली नगरपालिका २ का २६ वर्षीय पुरुष र गैडाकोट नगरपालिका १ का ३४ वर्षीय पुरुष रहेका छन् । संक्रमित मध्ये एक जनालाई सोही अस्पतालाको आइसोलेशनमा राखिएको छ भने २ जना होम आइसोलेशनमा रहेको जनस्वास्थ्य अधिकृत सुवेदीले बताए ।

नवलपुरमा गत फागुन २ गतेबाट पीसीआर परीक्षण गर्न शुरु गरिएको हो ।

 

प्रतिक्रिया