चितवन ट्याक्टर दुर्घटनाः मृतक चार जनाको पहिचान खुल्यो, ६ को अवस्था गम्भीर


भरतपुर – चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

वडा कार्यालय भवनको ढलान गरेर फर्कँदै गरेका मजदुर चढेको ना १ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा चितवनको राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्क लामा, चितवनको खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, खैरहनी ९ कै ५० वर्षकी छनिया महतो र राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठ रहेको चितवन प्रहरीले जनाएको छ । एकजना २४/२५ वर्षीय पुरूषकाे पहिचान खुल्न बाँकी छ ।

उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चारजना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार चितवनको राप्ती नगरपालिका आमपानीको चिउडेखोलामा ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टरमा करिब २२ जनाभन्दा बढी सवार रहेको उनले बताए । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले उपचाररत रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुर र चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जाकारी दिए ।

 

प्रतिक्रिया