६ वर्षपछि उठ्यो धराहरा, वैशाख ११ गते उद्घाटन हुँदै


काठमाडौं – २०७२ सालको भुकम्पले ध्वस्त पारेको धरहराको पुनर्निर्माण सकिन लागेको छ । आगामी वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको उद्घाटन गर्ने भएका छन् ।

६ वर्षअघि भूकम्प आएर धरहरा ढलेको ठिक ६ वर्षमा यसको नयाँ स्वरुप निर्माण हुने भएको हो । अहिलेको संरचनालाई भूकम्पले सजिलै ढाल्न नसक्ने पुनर्निमाण प्राधिकरणका सीइओ सुशील ज्ञवालीले बताए ।

‘भूकम्पले ढाल्न नसक्ने गरी निर्माणमा सबै प्रविधिहरु अपनाइएको छ । अब टुप्पोमा बस्दा डराउनुपर्ने हुँदैन,’ उनले भने । अहिले धरहराको कुल क्षेत्रफल ४२ रोपनीमा फैलिएको ज्ञवालीले जानकारी दिए । पहिले ७ रोपनी मात्रै थियो । अहिले धरहरा क्षेत्रमा मुख्य टावरसँगै अन्य संरचनाहरु पनि बन्दै छन् ।

११ गते मुख्य टावरको उद्घाटन हुन लागेको हो । अन्य संरचनाहरु भने सकिन केही समय लाग्ने उनले बताए । नवनिर्मित धरहराभित्र लिफ्ट पनि राखिएको छ । लिफ्ट प्रयोग गर्न नचाहनेहरुले भर्‍याङ उक्लेर पनि जान सक्छन् । धरहराको माथिल्लो भागमा बसेर आराम गर्ने व्यवस्था हुनेछ ।

भुकम्पले भत्काएको धरहराको ठूटो नचलाइकन नयाँ संरचना बनाइएको हो । पछिसम्म स्मृतिको लागि त्यो ठूटोलाई यथावत् राखिएको ज्ञवालीले बताएका छन् ।

प्रतिक्रिया