बाबु–छोराबीचको झगडा रोक्ने क्रममा झाँक्रीको मृत्यु


नुवाकोट-  नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा बाबु–छोराबीचको झगडा रोक्ने क्रममा एक जनाको ज्यान गएको छ।

दुप्चेश्वर–१ स्थित घ्यावरचौरका ३५ वर्षीय रणबहादुर तामाङ मंगलबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रहरीका अनुसार, तामाङ छिमेकी ५२ वर्षीय वाङ्दी शेर्पाको घरमा बिरामीको झारफुक गर्न गएका थिए। त्यही क्रममा वाङ्दी र उनका २५ वर्षीय छोरा कुन्साङ ग्याल्जेनबीच आपसी झगडा भयो। झगडा रोक्ने प्रयास गर्दा झाँक्री तामाङको ज्यान गएको प्रहरीको प्रारम्भिक निष्कर्ष हो।

घटनापछि, प्रहरी निरीक्षक लोकराज पाठकको नेतृत्वमा इलाका प्रहरी कार्यालय खरानीटार र समुन्द्रटारबाट खटिएको टोलीले बाबु–छोराबीचको झगडामा संलग्न दुवैजनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले उनीहरूलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया