मधेश कांग्रेसको जन्मभूमि, यहाँको सेवा गर्नु हाम्रो कर्तव्य : गगन थापा


काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशलाई पार्टीको जन्मभूमि भएको बताएका छन्।

बुधबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रममा सभापति थापाले कांग्रेसको स्थापना र वृद्धि यही धर्तीले गरेको उल्लेख गर्दै मधेशको योगदानको मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए। उनले भने, “मधेश कांग्रेसको जन्मभूमि हो। कांग्रेसलाई बनाएको, हुर्काएको र बलियो बनाएको यही धर्तीले हो।”

सभापति थापाले विगतका कमजोरी र गल्ती सुधार गर्ने संकल्पसहित मधेश आएको पनि बताए। उनले भने, “हामीले विगतमा धेरै गल्ती र कमजोरी गर्यौं। ती सुधार गर्ने संकल्पसहित हामी मधेश आएका हौँ।”

थापाले कांग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्नेमा जोड दिए। उनले भने, “सिंगो मधेशको सम्मान र अधिकारको सवालमा धेरै नयाँ पार्टी आए। कसैलाई आरोप लगाउँदिन तर कांग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्छ।”

उनले सर्लाहीका चार क्षेत्रसहित मधेशका ३२ निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारले मतदाताबाट समर्थन र सहयोगको अपेक्षा गरेको जानकारी दिए।

प्रतिक्रिया