
भरतपुरका तत्कालीन वरिष्ठ इन्जिनियरविरुद्ध साढे ६ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं- चितवनस्थित भरतपुर महानगरपालिकामा कार्यरत रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदको दुरुपयोग गर्दै आचार्यले स्रोत नखुलेको करिब ६ करोड ७८ लाख ९१ हजार रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको ठहरसहित विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको जनाएको छ ।
आयोगका अनुसार अनुसन्धानका क्रममा आचार्यले अवैध रूपमा आर्जन गरेको रकम आफ्नी पत्नी लिली सुवेदीको नाममा समेत विभिन्न चल–अचल सम्पत्ति खरिदमा प्रयोग गरेको पाइएको छ । सोही कारण प्रचलित कानुनअनुसार ती सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुवेदीलाई पनि प्रतिवादीका रूपमा मुद्दामा समावेश गरिएको छ ।
अनुसन्धानले आचार्य तथा उनका एकाघर परिवारका सदस्यहरूको वैधानिक आम्दानी करिब ३ करोड ५१ लाख रुपैयाँ मात्र देखाएको आयोगले जनाएको छ । तर आम्दानी, खर्च र बैंक मौज्दातको समग्र मूल्यांकन गर्दा उक्त आम्दानीभन्दा अत्यधिक, करिब ६ करोड ७८ लाख रुपैयाँ बराबरको सम्पत्ति अस्वाभाविक रूपमा थप भएको निष्कर्ष निकालिएको छ ।
वैधानिक स्रोतबाट पुष्टि हुन नसक्ने उक्त अतिरिक्त सम्पत्ति सार्वजनिक पदमा रहँदा आर्जन गरिएको ठहरसहित आचार्य र सुवेदी दुवैविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको आयोगले स्पष्ट पारेको छ ।





कागजपत्र |
