
डडेल्धुरामा महिलाको रहस्यमय मृत्युः सहायक हवल्दारमाथि अनुसन्धान जारी
डडेल्धुरा- डडेल्धुरामा एक महिलाको रहस्यमय मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी सहायक हवल्दार तथा चालक यज्ञबहादुर साउँदमाथि थप अनुसन्धान गरिने भएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार भागेश्वर गाउँपालिका–३ घर भई हाल अमरगढी नगरपालिका–४, जिल्ला प्रहरी कार्यालय नजिक बसोबास गर्दै आएकी सरिता गिरी शुक्रबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
घटना मृतक गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरी सहायक हवल्दार साउँदलाई लक्षित गर्दै लामो सुसाइड नोट सार्वजनिक गरेपछि बाहिरिएको हो। उक्त सुसाइड नोटमा साउँदले नगद १५ लाख रुपैयाँ र केही गरगहना लिएर फिर्ता नगरेको उल्लेख गर्दै त्यसै कारण आफू आत्महत्या गर्न बाध्य भएको दाबी गरिएको छ।
मृतकका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेकाले आइतबार मात्र पीडित पक्षबाट जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ। सूचना अधिकारी तथा प्रहरी निरीक्षक धनि चन्दका अनुसार जाहेरी दर्ता भएसँगै घटनाको थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
मृतकको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घटनासम्बन्धी अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।



कागजपत्र |
