स्वास्थ्य मन्त्री गौतमले सार्वजनिक गरिन् तीन महिनाको कार्यप्रगति


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदबहाली गरेको तीन महिनामा भएका कार्यप्रगति सार्वजनिक गरेकी छिन्। उनले २०८२ कात्तिक १० गते मन्त्री पद सम्हालेकी थिइन्।

तीन महिनाको अवधिमा जेनजी आन्दोलनका घाइतेहरूको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य, खरिद तथा आपूर्ति व्यवस्थापन, औषधि प्रयोगशाला सुधार तथा स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेर काम गरिएको मन्त्री गौतमले बताइन्।

कार्यप्रगतिअनुसार जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणसम्बन्धी कार्यविधि तयार गरी हालसम्म १८९ जना घाइतेको विवरण गृह मन्त्रालयमा पठाइएको छ। साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ। शहीद परिवारका लागि आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न आवश्यक स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको पनि उनले जानकारी दिइन्।

स्वास्थ्य बीमा ऐन, स्वास्थ्य सेवा ऐन, औषधि ऐन, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान ऐन तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन अध्यादेशमार्फत संशोधन गर्न प्रक्रिया अघि बढाइएको मन्त्री गौतमले बताइन्।

यसैगरी, नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा वर्षौंदेखि रिक्त रहेका सदस्यहरूको नियुक्ति प्रक्रिया अघि बढाइएको छ। मातृ मृत्यु सर्वेक्षणमा उच्च मातृ मृत्युदर देखिएका लुम्बिनी, कर्णाली, गण्डकी र मधेश प्रदेशमा मातृ मृत्युदर घटाउन विशेष ध्यान दिइएको पनि कार्यप्रगतिमा उल्लेख छ।

मन्त्री गौतमले आगामी दिनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राख्दै स्वास्थ्य प्रणालीलाई नागरिकको विश्वास जित्ने दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

Skip to PDF content

प्रतिक्रिया