सीमा नाकामा सयन्त्र नहुँदा सङ्क्रमणको जोखिम, स्वास्थ्य कक्षमै छैनन् कर्मचारी
नेपालगञ्ज – छिमेकी मुलुक भारतमा कोभिड-१९ को सङ्क्रमण बढ्दो भए पनि बाँकेको नेपाल-भारत सीमा जमुनहा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र परिचालन गरिएको पाइँदैन ।
सीमा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि संयन्त्र नहुँदा भारतको उच्च जोखिम भएको ठाउँबाट नेपाल प्रवेश गर्नेबाट सङ्क्रमणको जोखिम बढेको पाइएको छ । अहिले भारतको महाराष्ट्र, तामिलनाडु, पञ्जाव, मध्यप्रदेश, नयाँदिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा दोस्रो लहरको सङ्क्रमणको दर बढ्दो रहेको छ । सीमा नाकामा ती राज्यबाट आउनेलाई बढी निगरानी गरिएको छ ।
भारतका ती ठाउँमा सङ्क्रमण बढेपछि सरकारले यही चैत ११ गतेदेखि सरकारले सबै नेपाल–भारत सीमा नाकामा स्वास्थ्य सहायता कक्ष ९हेल्थ डेक्स० स्थापना गरेको छ । सीमा नाका जमुनाहामा पनि सहायता कक्षमा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र नहुँदा नेपाल प्रवेश गर्नेले सङ्क्रमण भित्र्याउने जोखिम रहेको कक्षका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवाली बताउछन् ।
संयन्त्र नहुँदा जमुनाहा नाकाको सहायता कक्षले प्रभावकारी रुपमा रोकथाम र नियन्त्रणको काम गर्न समेत सकिरहेको छैन । प्रभावकारी सयन्त्र नभए तापनि कक्षमा रहेका कर्मचारी नेपाल प्रवेश गर्ने व्यक्ति विवरण र ज्वरो नाप्ने काम भने गरिरहेको छन् । सीमा नाकामा सङ्क्रमितलाई राख्नका लागि होल्डिङ सेन्टर र क्वारेन्टाईन व्यवस्था भने गरिएको छैन ।
तीन जना कर्मचारीले एउटा थर्मलगनको भरमा भारतको उच्च जोखिम भएको ठाउँबाट आउने व्यक्तिबाट सङ्क्रमण रोकथाम र नियन्त्रण गरिरहेका छन् । कर्मचारी अभावले सीमा नाका भएर नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य सुरक्षाका मापदण्ड कसरी अपनाउने, १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने जस्ता कुरा सिकाउन नसकिएको उनको भनाइ छ ।
भारतबाट आउनेलाई शङ्का र लक्षण देखिए नमूना एन्टिजेन परीक्षण गर्ने गरिएको छ । नाका हुँदै आएका व्यक्तिको नाम, ठेगाना, उमेर र कुन ठाउँबाट आएको भनेर मात्र कक्षमा रहेका कर्मचारीले रजिष्टर्डमा टिपेपनि कर्मचारी अभावले सबै विवरणका लागि फाराम भराउन सकिएको छैन । भारतमा सङ्क्रमण बढेपनि खुला सीमाका कारण दैनिक ४ देखि ५ हजारसम्म व्यक्ति सीमापारि रुपडिया बजारमा दैनिक खाद्यान्न र अन्य सामान किन्न बिना रोकतोक सीमा वारपार गरिरहेका देखिन्छन् ।
ल्याब टेक्निसियन ज्ञवालीले कर्मचारी पर्याप्त नहुँदा आफूहरुले भारतबाट आउने व्यक्तिको ज्वरो नाप्ने र विवरण सङ्कलन गर्नबाहेक कुनै काम गर्न नसकिएको बताए ।
कर्मचारी अभाव
सरकारले सीमा नाका र अन्तरराष्ट्रिय विमानस्थलमा स्थापना गरेको स्वास्थ्य कक्षमा एक मेडिकल अफिसर, एक हेल्थ असिष्टेन्ट, एक सिनियर अहेब, एक नर्स, एक जना अनमी, एक ल्याब टेक्निसियन र एक कार्यालय सहयोगीको गरी सात जनाको अस्थायी दरबन्दी सिर्जना गरेको छ । जमुनाहा नाकामा एक सिनियर अनमी, एक अहेब र एक ल्याब टेक्निसियन मात्र रहेका छन् ।
ल्याब टेक्निसियन ज्ञवालीले दरबन्दीअनुसार कर्मचारी नहुँदा सीमा नाका भएर आउने व्यक्तिको कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न नसकिएको स्वीकार गरे । उनले ती व्यक्तिको विवरण लिने, सामान्य थर्मलगनबाट ज्वरो नाप्नेबाहेक अरु कुनै काम गर्न नसकिएको बताृए ।