व्यवसायीको हत्या भएकोमा नेपाल सुनचाँदी व्यवसायी महासंघको आपत्ति


काठमाडौं – सिरहाका सुनचाँदी व्यवसायीको गोली हानी हत्या भएकोमा नेपाल सुनचाँदी व्यवसायी महासंघले आपत्ति जनाएको छ। गएराति लहानस्थित अमिता ज्वेलर्सका सञ्चालक ४० वर्षीय प्रदीप विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरेका थिए।

व्यवसायी विश्वकर्माको हत्याको घटनाले मुलुकभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित बनाउनुका साथै सिंगो मुलुकको सुरक्षा व्यवस्था र व्यवसायीक सुरक्षाको बिषयमा गम्भीर प्रश्नचिन्ह खडा भएको महासंघले बताएको छ।

सिरहाको लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका विश्वकर्माकोे हत्या पछि सो समूहले अमिता ज्वेलर्समा रहेका सुनचाँदी र नगद पनि लुटपाट गरेका हुन्।

‘व्यवसाय सञ्चालनमा क्रममा यसरी लुटपाट तथा हत्या गरिनु अत्यन्तै निन्दनिय भएको र सिङगो मुलुकमा विद्यमान शान्ति सुरक्षाको कमजोर अवस्थाको चित्रण भएको छ। यसले आम व्यवसायीलाई हतोत्साही मात्रै नबनाई चिन्तित र दुखित समेत तुल्याएको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारवाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको व्इवस्था गरी शान्ति सुरक्षाको प्रत्याभूति गर्न सुनचाँदी व्यवसायीको माग छ।

सोहीक्रममा उनकी श्रीमती अमिता विश्वकर्मा पनि घाइते भएकी छन्। लुटेरा समूहले अमितामाथि खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। लहान नगरपालिका–७ का रामकृष्ण चौधरी र सुरेशकुमार सहनी भाग्दै गरेकै अवस्थामा पक्राउ परेका हुन्। पक्राउ परेकाहरुले घटनाबारे स्वीकार नगरे पनि घटनामा उनीहरुको हात रहेको आशंका प्रहरीको छ।

प्रतिक्रिया