
बलरामा नगरप्रमुख कुशवाहासहित ८ जनाविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकरप्रसाद कुशवाहासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा किशोरीहरूका लागि सञ्चालन गरिएको खेलौना बनाउने तालिम कार्यक्रमका लागि विनियोजित बजेट हिनामिना गरिएको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
मुद्दामा बलरा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मनोज मोहन कुमार सिंह, प्रमुख प्रशासकीय अधिकृत सुशीलकुमार साह, लेखापाल राजकुमार महतो र तत्कालीन योजना शाखा प्रमुख उदयकुमार साहलाई प्रतिवादी बनाइएको छ।
यसैगरी शान्ति विकास कल्याण केन्द्र नेपाल, गौर–८ रौतहटका अध्यक्ष सवीन्द्रनारायण साह, सदस्य उमेशकुमार पासवान र सदस्य जाजुल मिया कवारी पनि मुद्दामा तानिएका छन्।
अख्तियारले सबै प्रतिवादीविरुद्ध जनही ३ लाख ८२ हजार ५३ रुपैयाँ बिगो कायम गर्दै कैद तथा जरिवानाको मागदाबी गरेको छ।



कागजपत्र |
