राजसंस्था स्थापना गर्ने भन्दै ५० लाख म्यासेज गरेर आतङ्कित बनाउने सेढाईं पक्राउ


काठमाडौं-  प्रदेश संरचना हटाएर सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै ५० लाख म्यासेज पठाएको आरोपमा चितवन घर भएका ३४ वर्षीय सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मंगलबार राति काठमाडौंको हात्तीसारबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको एसपी काजी कुमार आचार्यले जानकारी दिए।

सेढाईंले गाडी व्यवसाय गर्दै आइरहेका थिए र नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ मार्फत ५० लाख मोबाइल नम्बरमा म्यासेज पठाएको स्वीकार गरेका छन्। पठाइएको म्यासेजमा भनिएको थियो, “नेपालका सबै समस्याहरूको सँधैका लागि मुक्तिको निम्ति प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित संरचना सहितको सनातन संवैधानिक राजसंस्था स्थापनाको लागि आमन्त्रित गर्दछु।”

पुस ३० गते सेढाईंले बालुवाटारमा उपस्थित हुन पनि म्यासेजमार्फत आह्वान गरेका थिए। उनी निषेधित क्षेत्रमा अनिश्चितकाल उपस्थित हुन आग्रह गर्ने गरी जनतालाई आतङ्कित पार्ने प्रयास गरेको आरोपमा सार्वजनिक हित विरुद्धको मुद्दामा अनुसन्धान भइरहेको एसपी आचार्यले बताए।

प्रतिक्रिया