मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा रविको निवेदन


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध दायर केही मुद्दा फिर्ता गर्न महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन्। उनीमाथि जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर छ भने रुपन्देही र काठमाडौंमा समेत सहकारी ठगी तथा सङ्गठित अपराधका मुद्दा चलिरहेको छ।

महान्यायाधिवक्ता कार्यालयका स्रोतका अनुसार लामिछानेले फिर्ता मागेको मुद्दामा राजनीतिक पूर्वाग्रहको आधारमा आरोप लगाइएको बताउँदै निवेदन दिएका हुन्। उनका अनुसार, सहकारी ठगीको मुद्दामा मात्रै बढी कैद सजाय माग्न नमिल्ने भएपछि सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको आरोप थप गरिएको हो।

नेकपा एमालेका सचिव महेश बस्नेतले यस कदमलाई “अत्यन्तै गम्भीर र चिन्ताजनक” ठहर गर्दै सरकारले अपराध लुकाउने प्रयास गरेको आरोप लगाएका छन्। उता अभियन्ता युवराज सफलले लामिछाने पक्ष र महान्यायाधिवक्ताबीच गोप्य भेटघाट भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन्।

लामिछाने केही समयअघि उच्च अदालत बुटवलको धरौटी र जमानत आदेशबाट कारागारमुक्त भएका थिए। अहिले उनका निवेदन सम्बन्धी अध्ययन र प्रक्रिया महान्यायाधिवक्ता कार्यालयमा अघि बढिरहेको छ।

प्रतिक्रिया