
यसरी लुटिएको थियो एसबिआई बैंक
काठमाडौं- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारमा रहेको एसबिआई बैंक शाखामा पुस २९ गते साँझ सशस्त्र लुटपाट भएको छ। साँझ करिब ६–७ जनाको समूह बैंकमा प्रवेश गरी सुरक्षा गार्ड र कर्मचारीमाथि आक्रमण गर्दै नगद लुटेर फरार भएको हो।
घटना हुँदा बैंक शाखाका सुरक्षा गार्ड रुद्रबहादुर कार्की बैंकभित्र खाना पकाउँदै थिए। त्यही समयमा बैंकका अन्य तीन जना कर्मचारी खाना खान बाहिर गएका थिए। लुटेराहरूले पहिला सुरक्षा गार्डमाथि आक्रमण गरे र खाना खाएर फर्किएका कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिएर हातखुट्टा बाँधिदिए।
लुटेराहरूले बैंकभित्र रहेको नगद लुटेर बाहिरबाट चुकुल लगाई सुरक्षा गार्ड र कर्मचारीलाई भित्रै थुनेर भागेका थिए। पछि प्रहरी घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार बैंकबाट ३ करोड १० लाख रुपैयाँ बराबरको नगद लुटपाट भएको छ।
सुरक्षा गार्ड कार्कीका अनुसार मङ्की टोपी लगाएर आँखा मात्र देखिने गरी ढाकिएका लुटेराहरू बैंकभित्र प्रवेश गरेका थिए। ‘दुईजनाले पेस्तोल देखाए, चारजनाले खुकुरी देखाएर मलाई तर्साए,’ उनले भने, ‘मैले प्रतिकार गर्न खोज्दा खुकुरीले हातमा प्रहार गरे, घाइते बनाएर हातखुट्टा बाँधेर लडाइदिए।’ सुरक्षा गार्ड कार्कीका अनुसार लुटेराहरूले उनलाई ‘नबोल’ भन्दै मुख थुनेका थिए। ‘दुईजनाले पेस्तोल र चारजनाले खुकुरी देखाएर धम्क्याए,’ उनले भने।
कार्कीका अनुसार लुटेराहरूले स्टिलको जस्तो देखिने पेस्तोल प्रदर्शन गरेका थिए। भाग्ने क्रममा लुटेराहरूले फालेको रकमको एउटा बोरा जङ्गलमा फेला परेको छ। स्थानीयको सहयोगमा प्रहरीले उक्त बोरा बरामद गरेको जनाएको छ।
लुटपाटमा प्रयोग गरिएको बिएडी–०३९८ नम्बरको टाटा सुमो बनेपाबाट रिजर्भ गरिएको खुलेको छ। उक्त सुमो प्रहरीले नियन्त्रणमा लिएको छ। सुमोका चालक भगत सिंह थापासहित चार जनालाई प्रहरीले पक्राउ गरेको एसपी सुवेदीले जानकारी दिए। अन्य तीन जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
जङ्गलमा फेला परेको रकम र लुटेराको साथबाट अहिलेसम्म १ करोड ८० लाख १० हजार रुपैयाँ नगद बरामद भइसकेको प्रहरीले जनाएको छ। पक्राउ परेका आरोपीहरू घ्याङलेख गाउँपालिका–२ बाटै नियन्त्रणमा लिइएका हुन्।
घटनाको थप अनुसन्धान र बाँकी आरोपीको खोजीका लागि एसपी सुवेदी स्वयं घ्याङलेखको हायुटार र बस्तीपुर क्षेत्रमा खटिएका छन्।



कागजपत्र |
