करार चिकित्सकलाई महँगी भत्ता दिन नेपाल चिकित्सक संघको माग


काठमाडौं- अस्थायी तथा स्थायी करार सेवामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई महँगी तथा अन्य भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ।

संघका अध्यक्ष डा. अनिल कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमलाई ज्ञापनपत्र बुझाउँदै करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महँगी भत्ता सहितका सेवा–सुविधा उपलब्ध गराउन आग्रह गरेका हुन्।

संघले नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७७ बमोजिम करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महँगी भत्ता लगायतका सुविधा सुनिश्चित गर्न माग गरेको छ। यद्यपि मन्त्रालयले जारी गरेको उक्त निर्देशिकामा महँगी भत्ताबारे स्पष्ट व्यवस्था नभएको संघको भनाइ छ।

करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न महँगी भत्ता उपलब्ध गराउने विषयमा मन्त्रालयले यथाशीघ्र स्पष्ट निर्देशन दिनुपर्ने संघको माग छ।

साथै महँगी तथा अन्य भत्तासम्बन्धी आवश्यक नीति स्पष्ट गरी सबै सरकारी स्वास्थ्य संस्थामा एकरूपता हुने गरी कार्यान्वयन गर्न संघले आग्रह गरेको छ।

प्रतिक्रिया