
प्रशान्त तामाङको अन्तिम संस्कार दार्जिलिङमा, हजारौँले दिए श्रद्धाञ्जली
दार्जिलिङ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको अन्तिम संस्कार दार्जिलिङमा गरिँदैछ। सोमबार बिहान सिलिगुडीको बागडोगरा विमानस्थलबाट उनको पार्थिव शरीर दार्जिलिङ लगिएको हो।
दार्जिलिङ पुगेपछि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चौधास्ता (चाउरास्ता) मा राखिने जनाइएको छ। त्यहाँ आयोजित शवयात्रामा उनका हजारौँ शुभचिन्तक, प्रशंसक तथा आफन्तहरूले पुष्पगुच्छा अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
प्रशान्त तामाङको आइतबार ४३ वर्षको उमेरमा भारतको दिल्लीमा निधन भएको थियो। उनी लामो समयदेखि गायन र अभिनय क्षेत्रमा सक्रिय रहँदै आएका थिए।
‘इण्डियन आइडल’ सिजन–३ का विजेता रहेका प्रशान्त तामाङले आफ्नो गायन यात्रामार्फत दक्षिण एसियामै ठूलो चर्चा कमाएका थिए। गायनसँगै उनले अभिनय क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएका थिए। उनको असामयिक निधनले संगीत र चलचित्र क्षेत्रलाई स्तब्ध बनाएको छ।



कागजपत्र |
