
विष पिएरै भए पनि पार्टी एकता जोगाउँछु : शेखर कोइराला
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति तथा वरिष्ठ कानुन व्यवसायीहरूसँग पार्टीको वर्तमान राजनीतिक अवस्थाबारे छलफल गरेका छन्। छलफलमा उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
छलफलका क्रममा डा. कोइरालाले पार्टी विभाजनको जोखिम बढ्दै गएको भन्दै त्यसलाई रोक्न आफू निरन्तर संवाद र सहजीकरणमा जुटिरहेको जानकारी दिए। उनले पार्टी एकताका लागि अन्तिम प्रयासका रूपमा आफू ‘विष पिएरै भए पनि’ पार्टीभित्रको एकता जोगाउने दृढ संकल्पमा रहेको बताए।
‘म पार्टी सभापति, कार्यवाहक सभापति र महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न नदिनुपर्छ भनेर निरन्तर कुरा गरिरहेको छु,’ उनले भने, ‘तपाईंहरू ढुक्क हुनुहोस्, पार्टी फुट्दैन। तपाईंहरू पनि एकताकै पक्षमा लाग्नुहोस्, निराश हुने कुनै कारण छैन।’
छलफलमा सहभागी वरिष्ठ कानुन व्यवसायीहरूले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारे। उनीहरूले हाल महामन्त्रीहरूले आह्वान गरेको विशेष महाधिवेशन वैधानिक नभएको र त्यसका आधारमा नेतृत्व परिवर्तन गर्न नमिल्ने धारणा राखे।
छलफलमा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फुटबाट जोगाउन डा. कोइरालाले दुवै पक्षबीच सहजीकरण गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए।



कागजपत्र |
