सामाजिक सञ्जाल दुरुपयोग गर्ने ५९९ प्रहरी कर्मचारी कारबाहीमा


काठमाडौं- नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैरव्यावसायिक र अमर्यादित सामग्री पोष्ट गरेको अभियोगमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ५९९ जना प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका छन्।

नेपाल प्रहरीका अनुसार फेसबुक, एक्स (ट्विटर), टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमा संगठनविरुद्ध टिप्पणी गर्ने, प्रहरी पोषाक तथा गतिविधिको दुरुपयोग गर्ने, वा प्रहरीको व्यावसायिक मर्यादा विपरीत सामग्री सार्वजनिक गर्ने कर्मचारीहरूलाई कारबाही गरिएको हो।

कारबाहीमा पर्नेहरूमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) १ जना, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) १ जना, प्रहरी उपरीक्षक (एसपी) ४ जना, प्रहरी नायब उपरीक्षक (डिएसपी) ५ जना, प्रहरी निरीक्षक २४ जना, प्रहरी वरिष्ठ नायब निरीक्षक ११ जना, प्रहरी नायब निरीक्षक २४ जना, प्रहरी सहायक निरीक्षक ५१ जना, प्रहरी वरिष्ठ हवल्दार ७ जना, प्रहरी हवल्दार ३५ जना, सहायक हवल्दार ७६ जना, प्रहरी जवान ३५८ जना तथा प्रहरी कार्यालय सहयोगी २ जना रहेका छन्।

उनीहरूलाई संगठनको नीति, आचारसंहिता तथा निर्देशन उल्लङ्घन गरेको ठहर गर्दै सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मका विभागीय कारबाही गरिएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, जिम्मेवार र मर्यादित बनाउन २०७१ साल पुस ११ गतेदेखि सामाजिक सञ्जालको व्यवस्थित प्रयोगसम्बन्धी निर्देशिका लागू गरेको थियो। साथै, प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश–२०७७ तथा प्रहरी प्रधान कार्यालयबाट जारी विभिन्न परिपत्रहरूमा सामाजिक सञ्जाल प्रयोगबारे स्पष्ट प्रतिबन्धात्मक व्यवस्था गरिएको छ।

उक्त निर्देशिकाअनुसार प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालमा गैरव्यावसायिक तथा अमर्यादित आचरण देखिने गरी हातहतियार, पोषाक, सवारी साधन तथा प्रहरी गतिविधिसम्बन्धी फोटो वा भिडियो अपलोड, शेयर, लाइक वा टिप्पणी गर्न निषेध गरिएको छ। त्यस्तै, गोपनीयता, शान्ति सुरक्षा, धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पुग्ने कुनै पनि सामग्री सामाजिक सञ्जालमा प्रकाशन वा प्रचार गर्न नपाइने व्यवस्था गरिएको छ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत प्रहरी संगठनको छवि र व्यावसायिक मर्यादामा आँच पुग्ने सामग्री हटाउने तथा दोषीलाई कारबाहीको दायरामा ल्याउने कार्यलाई नेपाल प्रहरीले थप तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया