
अध्यक्ष ओझामाथि मोसो प्रहारपछि डडेल्धुरा अस्पतालद्वारा सेवा बन्दको चेतावनी
डडेल्धुरा- डडेल्धुरा अस्पताल विकास समितिले अध्यक्ष करुणाकर ओझामाथि बुधवार दिउँसो अस्पतालको कार्यकक्षमा केही व्यक्तिहरूद्वारा गरिएको दुर्व्यवहारप्रति गहिरो दुख व्यक्त गरेको छ।
अस्पताल विकास समितिले जारी गरेको विज्ञप्तिमा अध्यक्ष ओझा अहोराव दिनरात बिरामी सेवाग्राहीका लागि अग्रपङ्क्तिमा खटिरहेको अवस्थामा संवेदनशील अस्पतालको कार्यकक्षमा प्रमाणविहीन र तथ्यविहीन आरोप लगाउनु लज्जाजनक भएको जनाइएकाे छ। घटनाले अस्पतालको सेवा प्रवाह र कर्मचारीहरूको मनोबलमा नकारात्मक असर पार्ने भन्दै सबै सरोकारवालालाई उच्च नैतिक मूल्य कायम राख्दै अस्पतालको पक्षमा उभिन आह्वान गरिएको छ।
विज्ञप्तिमा दोषीमाथि यथासिघ्र छानबिन गरी कानुनअनुसार कारवाही गर्न सम्बन्धित निकायमा माग गरिएको छ। साथै, भविष्यमा यस्ता अराजक गतिविधि नदोहोरिन सुनिश्चित गर्न सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिक समाजलाई पनि जिम्मेवारीबोध गराइएको छ।
अस्पताल विकास समितिका अनुसार, दोषीलाई कानुनी दायरामा नल्याएसम्म भाेलि (पुष २४ गते) देखि आकस्मिक सेवा बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गरिने जनाइएको छ। विज्ञप्तिमा सेवाग्राहीमा असुविधा हुनेमा क्षमाप्रार्थी हुने पनि उल्लेख छ।
बुधबार डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि नेकपा बहुमतको कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराकाे नेतृत्वमा जनकारबाही स्वरूप मोसो दलिएकाे थियाे। संगठनले अस्पताल सञ्चालन, कर्मचारी भर्ना, उपकरण खरिद र सेवा प्रवाहमा भ्रष्टाचार र अनियमितता भएकाे आरोप लगाउँदै उनलाई मोसो दलिएको जनाएको छ।



कागजपत्र |
