
लौकही गोलीकाण्डपछि गणका एसपीसहित ३६ जना सशस्त्र प्रहरीकाे सरुवा
सुनसरी – कोशी गाउँपालिका–लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनापछि सुनसरीका सशस्त्र प्रहरीमा व्यापक हेरफेर गरिएको छ।
घटनापछि सशस्त्र प्रहरी बलको ४ नम्बर गण, सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहित बोडर आउट पोस्ट लौकहीमा कार्यरत सबै ३६ जना सशस्त्र प्रहरीलाई सरुवा गरिएको छ। साथै, सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले छुट्टै छानबिन समिति गठन गरेको छ।
स्थानीयवासीहरूले आक्रोशमा विरोध प्रदर्शन गरेपछि ४ नम्बर गण सुनसरीका गणपति एसपी निर्मल कुमार थापालाई बराह बाहिनी, पकलीमा सरुवा गरिएको छ। उनका स्थानमा एसपी ज्ञानमणि पौडेललाई खटाइएको डिआईजी कुमार न्यौपानेले जानकारी दिए।
त्यस्तै, बोडर आउट पोस्ट लौकहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक मनिष कटवालसहित ३५ जनाको पनि स्थान परिवर्तन गरिएको छ। कटवालको स्थानमा नयाँ निरीक्षक भुपाल खड्का सहित ३५ जना प्रहरी लौकहीमा खटाइएको छ।
साहमाथि गोली प्रहार गर्ने हवल्दार नवराज खतिवडालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ। उनलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।
घटना गत बुधबार राति भएको थियो। कोशी गाउँपालिका–लौकहीस्थित सशस्त्र प्रहरी बलको ३ नम्बर पोस्ट नजिक भारततर्फबाट तस्करी गरिएको चिनी लिएर आउँदै गरेका साहमाथि ड्युटीमा रहेका हवल्दार खतिवडाले गोली चलाएका थिए। घटनास्थलमै साहको मृत्यु भएको थियो।
सशस्त्र प्रहरी प्रधान कार्यालयले वरिष्ठ उपरीक्षक (एसएसपी) रबिनराज कर्णजितको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। साथै, जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान अधिकृत सदस्य रहेको अर्को तीन सदस्यीय समिति पनि गठन गरेको छ। दुबै समितिले घटनाको गहिरो छानबिन गरिरहेको जनाएका छन्।
सशस्त्र प्रहरीले भने भारतबाट तीनवटा अटो र एउटा सिटी सफारी नेपालतर्फ आउँदै गर्दा अगाडिको अटोबाट सशस्त्र प्रहरीमाथि गोली प्रहार भएको र आत्मरक्षाका लागि जवाफी फायरिङ गर्नुपरेको दाबी गरेको छ। घटनापछि सशस्त्र प्रहरीमाथि मुद्दा दर्ता हुनु र सामूहिक सरुवा गरिनुले फिल्डमा कार्यरत प्रहरीको मनोबल घट्ने भन्दै केही कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन्।



कागजपत्र |
