ओखलढुंगामा तीन जनाको श्रृंखलाबद्ध हत्या गर्ने गिरोह पक्राउ


काठमाडौं-  ओखलढुंगामा श्रृंखलाबद्ध रूपमा हत्या र लुटपाट गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । तीन जनाको निर्मम हत्या तथा लुटपाटमा संलग्न गिरोहका चार सदस्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार र शनिबार फरक–फरक स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुंगा चिसाङ गाउँपालिका–३ का २८ वर्षीय मिलन भन्ने संगम राई, रातमाटे बसोबास गर्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् । अनुसन्धान ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार संगम राईलाई शुक्रबार तथा बाँकी तीन जनालाई शनिबार पक्राउ गरिएको हो ।

प्रहरी अनुसन्धानअनुसार उक्त समूहले २०८२ पुस १५ गते ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ मा बसोबास गर्ने ६० वर्षीय शोभितमान थापा र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरलाई धारिलो हतियार प्रहार गरी वीभत्स रूपमा हत्या गरेको थियो । हत्या पश्चात् उनीहरूको घरबाट करिब १ लाख रुपैयाँ नगद र गहना लुटपाट गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही समूहले यसअघि २०८२ असोज २६ गते ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ मा बसोबास गर्ने ५२ वर्षीया रत्नकुमारी कटवालको बञ्चरो प्रहार गरी हत्या गरेको र घटनापछि नगद तथा गहना लुटपाट गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

हत्या तथा लुटपाटमा प्रयोग गरिएको बञ्चरो, खुकुरी, गहना गालेर बनाइएको रिङ, बन्दुक, कोदालो, मोबाइललगायतका सामग्री प्रहरीले उनीहरूको साथबाट बरामद गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया