
जेनजी आन्दोलन दमनबारे मानवअधिकार आयोगद्वारा ओलीसँग सोधपुछ
काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा र विध्वंशका विषयमा राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोधपुछ गरेको छ ।
आयोगले आइतबार अपराह्न ओलीसँग जेन–जी आन्दोलनमा राज्यपक्षबाट भएको दमन, त्यसपछिको हिंसा र विध्वंशका घटनाबारे विस्तृत सोधपुछ गरेको आयोगकी सदस्य लिली थापाले जानकारी दिइन् ।
जेन–जी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका विषयमा आयोगले यसअघि नै दर्जनौँ व्यक्तिसँग बयान लिइसकेको छ । आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहदेखि तत्कालीन गृहमन्त्री रमेश लेखकसम्मसँग पनि सोधपुछ गरिसकेको जनाएको छ ।
ओली प्रधानमन्त्री रहेका बेला भदौ २३ गते काठमाडौं र इटहरीमा भएको आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको थियो । त्यसको भोलिपल्ट भदौ २४ गते आन्दोलन हिंसात्मक बन्दै जाँदा देशभर व्यापक विध्वंश मच्चिएको थियो, जसका कारण अर्बौँ रुपैयाँ बराबरका सरकारी तथा निजी भौतिक संरचना ध्वस्त भएको थियो ।
आयोगका अनुसार ती दुई दिनको आन्दोलन र त्यससँग जोडिएका हिंसात्मक घटनामा आन्दोलनमा उत्रिएका २३ जनासहित कुल ७६ जनाले ज्यान गुमाएका थिए । मृतकमध्ये १० जना कैदीसमेत रहेका थिए । लुटपाट, आगजनी र हिंसामा संलग्न समूहका कारण पनि ठूलो संख्यामा मानवीय क्षति भएको आयोगको प्रारम्भिक विवरणमा उल्लेख छ ।
जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाई जिम्मेवार निकाय र व्यक्तिहरूको पहिचान गर्न आयोगले अनुसन्धानलाई निरन्तरता दिइरहेको जनाएको छ ।



कागजपत्र |
