
नियमित महाधिवेशन तय भएसँगै विशेषको औचित्य समाप्त भएकाे कांग्रेस संस्थापनको निष्कर्ष
काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ । पार्टीले नियमित महाधिवेशनको मिति तय गरिसकेको अवस्थामा विशेष महाधिवेशन आवश्यक नरहेको ठहर संस्थापन पक्षको बैठकले गरेको हो ।
सभापति शेरबहादुर देउवाले बोलाएको संस्थापन पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आइतबार महाराजगञ्जस्थित देउवा निवासमा बसेको थियो । बैठकले यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकको निर्णयको स्वामित्व लिँदै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको अडानलाई निस्तेज पार्ने समझदारी बनाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।
संस्थापन पक्षका नेताहरूले विशेष र नियमित महाधिवेशनको विषयमा पार्टी विभाजित हुँदा आसन्न प्रतिनिधिसभा निर्वाचनमा थप क्षति पुग्ने निष्कर्ष निकालेका छन् । त्यसैले महामन्त्रीहरूलाई पार्टीको निर्णय मान्दै चुनावी तयारीमा लाग्न आग्रह गर्ने र जिल्ला सभापतिमार्फत विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन अनुरोध गर्ने निर्णय भएको ती पदाधिकारीले बताए ।
संस्थापन पक्षका अनुसार प्रत्येक नेताले आफ्नो सम्पर्कका जिल्ला सभापतिमार्फत विशेष महाधिवेशनका लागि नहिँड्न आग्रह गर्ने तयारी पनि गरिएको छ ।
बैठकबारे जानकारी दिँदै कांग्रेस नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालिएको र देशभरिका महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउनुपर्ने कुनै आवश्यकता नरहेको सन्देश प्रवाह गर्ने निर्णय भएको बताए । उनले सबै नेता–कार्यकर्तालाई आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित हुन आग्रह गरिएको पनि जानकारी दिए ।



कागजपत्र |
