
पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश
काठमाडौं– पोखराको लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ।
बुधबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने प्रलोभन देखाएर घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको छ। सोही आधारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।
यस प्रकरणमा अख्तियारले पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग समेत आपसी मिलेमतो गरी पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गर्न २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको छ।
अख्तियारले गत असोज २२ गते पूर्वमन्त्री गुप्तासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसमेत मुछिएकी थिइन्।



कागजपत्र |
