तोकेकै मितिमा चुनाव हुन्छ : प्रधानमन्त्री कार्की


काठमाडौं-  प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुने स्पष्ट दाबी गरेकी छन् । राजनीतिक दल र युवा पुस्ताबीच निरन्तर भएको संवाद तथा सहकार्यका कारण मुलुक निर्वाचनतर्फ निर्णायक रूपमा अघि बढिसकेको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न हुने वातावरण निर्माणमा योगदान दिएको भन्दै राजनीतिक दल, निर्वाचन आयोगलगायत सबै सरोकारवालाप्रति आभार व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले सरकार गठनको मूल उद्देश्य नै सुशासनको जग बसाल्दै २१ फागुनमा निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गरिन् । सरकार, राजनीतिक दल र युवाहरूबीच निरन्तर संवाद र सहकार्यको परिणामस्वरूप तोकिएकै मितिमा निर्वाचन गराउने अवस्थामा सरकार पुगेको उनले बताइन् ।

उनले भनिन्, ‘मूलतः सुशासनको जग बसाल्ने र २१ फागुनमा निर्वाचन सम्पन्न गर्न यो सरकार गठन भएको सबैलाई विदितै छ । सरकार, राजनीतिक दल तथा युवाहरूसँग निरन्तर संवाद र सहयोगका कारण तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा हामी पुगेका छौँ । यसका लागि म सम्पूर्ण राजनीतिक दल, निर्वाचन आयोगलगायत सबै सरोकारवालाप्रति आभारी छु ।’

प्रधानमन्त्री कार्कीले नेपालका पछिल्ला ७५ वर्षको राजनीतिक इतिहास स्मरण गर्दै पटक–पटक भएका परिवर्तनहरू नागरिकको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन असफल भएको टिप्पणी गरिन् । उनका अनुसार यस अवधिमा आधा दर्जनजति परिवर्तनकारी राजनीतिक आन्दोलन भए र अन्तरिम संविधानसहित पाँच पटक संविधान निर्माण भए पनि ती परिवर्तनहरू दिगो हुन सकेनन् ।

‘त्यसबेला उत्कृष्ट ठानिएका धेरै राजनीतिक परिवर्तनहरू समयअनुकूल आम नागरिकको जीवनयापन सुधार्न असफल भए,’ उनले भनिन्, ‘पेशा, व्यवसाय र रोजगारीका पर्याप्त अवसर सिर्जना हुन सकेन । आचरण र व्यवहार पनि न्यायपूर्ण बन्न सकेन । यसको परिणाम नागरिकमा निराशा विस्फोटको रूपमा देखिन पुग्यो ।’

प्रधानमन्त्री कार्कीले जनताको निराशालाई समयमै सम्बोधन गर्न नसक्दा मुलुक बारम्बार विभिन्न संकटको चपेटामा पर्दै आएको उल्लेख गरिन् । अब त्यस्ता संकटलाई चिरेर अघि बढ्नु नै आजको आवश्यकता रहेको उनको भनाइ थियो ।

उनले लोकतन्त्रलाई मजबुत बनाउन स्थिरता, सुशासन र नागरिकको भरोसा पुनःस्थापित गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै त्यसको महत्वपूर्ण आधार निर्वाचन भएको बताइन् ।

प्रतिक्रिया