अध्ययनका लागि विदेश पठाउने नाममा ठगी, एजुकेशन कन्सल्टेन्सी सञ्चालक पक्राउ


काठमाडौं- अध्ययनका लागि विदेश पठाउने नाममा ठगी गरेको अभियोगमा काठमाडौँ लैनचौरस्थित युरो एसिया एजुकेसन कन्सल्ट प्रालिका सञ्चालक सूर्यबहादुर डाँगी पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–१०, पुरानो बानेश्वर बस्ने ३५ वर्षीय उदयपुर त्रियुगा नगरपालिका–६ का डाँगीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार सूर्यबहादुरले अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत जस्ता देशमा अध्ययनका लागि कलेज फि, इन्सुरेन्स पोलिसी लगायतको भुक्तानी डलर कार्डमार्फत छिटो र सहज हुन्छ भनी आफ्नै कम्पनीको बैंक खातामा रकम जम्मा गराएर पीडितबाट २६ लाख ८ हजार ५ सय ६५ रुपैयाँ ठगी गरेको आरोप छ।

पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई लैनचौरबाट पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको छ।

प्रतिक्रिया