
सुशीलाको हत्यामा संलग्नलाई कारबाहीकाे गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ
सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको आगो लगाएर हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुली घेराउ गरेका छन्।
जिल्ला प्रहरी कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार, मृतककी सासू ५९ वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन) लाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ। पक्राउ परेका दुबै जनाले आइतबार (पुस ६ गते) दिउँसो अन्दाजी साढे ४ बजे घरको भान्सा कोठामा मृतकको शरीरमा पेट्रोल छर्की आगो लगाएर हत्या गरेका थिए।
स्थानीय र मृतकका आफन्तले सुशीलाको न्याय र घटनाको निष्पक्ष छानबिनको माग गर्दै दबाब दिएका छन्। घटनास्थलमा सुशीलाले आगो बल्न थालेपछि चिच्याएर बचाउन खोज्दा, घरमा गेटमा ताल्चा लगाइएको र कोठामा आगो लगाइएको खुलाइएको छ। स्थानीयले घटनाबारे बताएअनुसार, सासू, सुसुरा र नन्दले सुशीलालाई पाँच वर्षभन्दा बढी समयदेखि निरन्तर मानसिक र शारीरिक यातना दिँदै आएका थिए।
पछिल्लो दुई महिनादेखि नन्द मीना बम्जनले सुशीलालाई घर छोडेर नगए मार्छु भन्दै धम्की दिँदै आएको खुलाएको छ।
मृतकका श्रीमान् सूर्य बम्जन हाल वैदेशिक रोजगारीका सिलसिलामा कोरियामा रहेका छन्।



कागजपत्र |
