
सिन्धुलीमा आगो लगाएर बुहारीको हत्या, सासू र नन्द पक्राउ
सिन्धुली- सिन्धुलीमा एक महिलामाथि पेट्रोल छर्किएर आगो लगाई हत्या गरिएको घटनामा उनकी सासू र नन्द पक्राउ परेका छन्। कमलामाई नगरपालिका–४ स्थित धुराबजारमा ३२ वर्षीया सुशीला बमजनको घरभित्रै हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार सोमबार साँझ घरको किचन कोठामै सुशीलाको शरीरमा पेट्रोल छर्किएर आगो लगाइएको थियो। बाँसको भाटामा सल बेरेर पेट्रोल खन्याई आगो लगाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
हत्या आरोपमा सुशीलाकी ५९ वर्षीया सासू मायारानी बमजन र ३५ वर्षीया नन्द मीना लामा बमजनलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका डिएसपी सूर्यप्रसाद सुवेदीका अनुसार प्रारम्भिक अनुसन्धानमा नन्द मीनाले पेट्रोल छर्किएर आगो लगाएको खुलेको छ।
घटनाका क्रममा सुशीलाका ससुरा दुर्गामान बमजनसमेत घाइते भएका छन्। पक्राउ परेकाविरुद्ध ज्यानसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी सुवेदीले जानकारी दिए। मृतकका बुबाले प्रहरीमा किटानी जाहेरी दिएका छन्।
प्रहरीका अनुसार मृतक सुशीलाका श्रीमान् रोजगारीको सिलसिलामा कोरियामा रहेका छन्। यस्तै, विवाहित नन्द मीना लामा बमजन माइतीमै बस्दै आएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
