श्रीमतीलाई जापान पठाउन लिएकाे ऋण तिर्न नसक्दा दुईजनाको हत्या


काठमाडौं-  ललितपुरमा श्रीमतीलाई वैदेशिक रोजगारीमा पठाउन लिएको ऋण तिर्न नसक्दा दुई जनाको श्रृंखलाबद्ध हत्या भएको खुलासा भएको छ। यस घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत मंसिर २३ गते ललितपुर महानगरपालिका–८ शेरेफाँटमा सिन्धुली गोलन्जोर गाउँपालिका–३ का केशवराज हायु हत्या भएका थिए। घटनापछि प्रहरीले अनुसन्धान सुरु गर्दा भोलिपल्टै घटेको अर्को हत्या घटनासँग पनि सोही समूहको संलग्नता रहेको निष्कर्ष निकालेको हो।

मंसिर २४ गते भोजपुर अरुण गाउँपालिका–३ घर भएका र ललितपुरको लुभु बस्दै आएका २१ वर्षीय पारुहाङ राई ललितपुरको लाकुरी भञ्ज्याङमा मृत अवस्थामा फेला परेका थिए। अपराध अनुसन्धान कार्यालयका अनुसार हायु र राईको हत्या एउटै कारण र एउटै समूहद्वारा गरिएको थियो।

प्रहरीका अनुसार, पत्नीलाई जापान पठाउन ऋण लिएका सिन्धुली सुनकोशी गाउँपालिका–४ का २१ वर्षीय देवराज ढुंगेलले ऋण तिर्न नसक्दा जेठान नाता पर्ने हायुको हत्या गरेका हुन्। ढुंगेलले आफ्ना साथी २० वर्षीय जयराम अधिकारीसँग मिलेर दुवै जनाको हत्या गरेका थिए।

छानबिनका क्रममा खुल्न आएको तथ्य अनुसार ढुंगेलले हायु र राई दुवैसँग ऋण लिएका थिए। पहिलो हत्या सफल भएपछि ऋण लिएका व्यक्तिहरूलाई क्रमशः मार्ने योजना बनाएको उनले प्रहरीलाई बताएका छन्।

दुवै हत्या धारिलो हतियार प्रयोग गरी टाउकोमा प्रहार गरेर गरिएको प्रहरीले जनाएको छ। हायुको शव पुस २ गते फेला परेको थियो।

प्रतिक्रिया