चोरीको गहना खरिद गर्ने व्यवसायीसहित चार जना पक्राउ


सर्लाही – लालबन्दीमा गरगहना चोरी गर्ने र चोरी गरिएका गहना बिक्रीमा ल्याउने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार चोरीमा संलग्न दुई जना र ती गहना खरिद गर्ने दुई सुनचाँदी पसल सञ्चालकलाई नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानमा मुख्य चोरी गर्ने व्यक्ति एक जना नाबालक रहेको पाइएको छ। नाबालक भएकाले प्रहरीले उनको नाम गोप्य राखेको छ।

नाबालकले चोरी गरेको गरगहना धनकौल गाउँपालिका–६, घर भई लालबन्दी नगरपालिका–७ बस्ने ३५ वर्षीया पिङ्कीदेवी साहलाई दिएर सुनचाँदी पसलमा बिक्री गराउने गरेको खुलेको छ। प्रहरीका अनुसार नाबालक र पिङ्कीदेवी नातेदार हुन्। उनीहरू लालबन्दी बजार क्षेत्रमा पानीपुरी र चटपटे बेच्दै हिँड्ने गर्दथे र एकै घरमा डेरा गरी बस्दै आएका थिए।

यसैबीच, चोरी गरेर ल्याइएको गरगहना खरिद गर्ने क्रममा आरके ज्वेलर्सका सञ्चालक ४२ वर्षीय रमेश विश्वकर्मा र साइरा ज्वेलर्सका सञ्चालक ३१ वर्षीय कुमार विश्वकर्मालाई पनि पक्राउ गरिएको छ।

सर्लाही जिल्ला अदालतको आदेशअनुसार चारै जनालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी छ। अनुसन्धानका क्रममा मङ्सिर २३ गते लालबन्दी–९, बस्तीपुरका प्रमोदकुमार लुइटेलको घरबाट चोरी भएका गहना नाबालकको कोठाबाट बरामद भएको छ। चोरी गरिएका गहनामध्ये एक थान तिलहरी १ लाख ४४ हजार रुपैयाँमा बिक्री भएको पनि प्रहरीले जनाएको छ।

प्रहरीले चोरीमा अन्य व्यक्तिहरूको संलग्नता पनि हुन सक्ने आशङ्कामा अनुसन्धान जारी राखेको छ। पछिल्लो समय लालबन्दी र मलङ्गवाल क्षेत्रमा बारम्बार चोरी भइरहँदा स्थानीयवासी र प्रहरी दुवै हैरान रहेका छन्।

प्रतिक्रिया