
डडेल्धुरामा साना किसानका पदाधिकारीका लागि नेतृत्व विकास तालिम
डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकामा साना किसान समूहका अध्यक्ष तथा पदाधिकारीका लागि दुई दिने समूह व्यवस्थापन र नेतृत्व विकास तालिम सञ्चालन गरिएको छ। तालिम बहुउद्देश्यीय विकास समाज (एमपिडिएस) डडेल्धुराको आयोजना तथा स्थानीय अधिकार परियोजनाको समन्वयमा सुरु गरिएको हो।
तालिममा लक्षित समुदायका महिला, दलित, जनजाति तथा आदिवासी समुदायका सदस्य सहभागी छन्। परियोजना संयोजक धनबहादुर भण्डारीले बताए अनुसार, समुदायले आफैंले आफ्नो विकास निर्माण गर्ने र नेतृत्व लिन सक्ने क्षमता विकासका लागि तालिमलाई महत्वपूर्ण कदम मानिएको छ।

एमपिडिएसले परशुराम नगरपालिकाका ४ वटा वडाका १४ समुदाय, १४ विद्यालय, मजदुर, घरायसी कार्य बोझमा रहेका परिवार, बालबालिका, किसान तथा जैविक वातावरण र प्रकोप व्यवस्थापनका क्षेत्रमा करिब तीन दशकदेखि काम गर्दै आएको छ। कार्यक्रम अन्तर्गत गरिबी निवारण, आयआर्जनमुखी गतिविधि, नेतृत्व विकास र जवाफदेहिता अभिवृद्धि गर्न लक्षित गरिएको छ।
संस्थाका अध्यक्ष अशोक बमका अनुसार, तालिमले पछाडि परेका समुदायलाई स्थानीय सरकार तथा विभिन्न सरकारी निकायबाट प्राप्त अधिकारबारे सचेत गराउने र आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ। एमपिडिएसले एक्सनएड नेपालसँगको साझेदारीमा परशुराम नगरपालिकाका समुदायमा कार्यक्रम सञ्चालन गरिरहेको छ।



कागजपत्र |
