
जेनजी आन्दोलनमा लुटिएको प्रहरीको हतियार झापा–इलाम पुर्याउने तीनजना जेल चलान
काठमाडौं— जेनजी आन्दोलनका क्रममा काठमाडौँबाट लुटिएको प्रहरीको हतियार झापा र इलामसम्म पुर्याएर लुकाइराखेको घटनामा संलग्न तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएसँगै सरोज पुरी, विश्वबन्धु लिङ्देन लिम्बू र पवन हाङसुरुम्बालाई थुनामा पठाइएको हो।
झापा दमकका सरोज पुरी काठमाडौँमा बस्दै अध्ययनसँगै इन्टेरियर डिजाइनसम्बन्धी काम सिक्दै आएका थिए। जेनजी आन्दोलन उत्कर्षमा पुगेको भदौ २४ गते साँझ रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आन्दोलनकारीले आगजनी गरेको समयमा उनी त्यहाँ पुगेका थिए। सो क्रममा केही व्यक्तिले प्रहरीको हतियार लुटिरहेको देखेपछि पुरी पनि जलिरहेको कार्यालयभित्र छिरेर दुईवटा पेस्तोल र २० राउन्ड गोली लिई डेरातर्फ फर्किएका थिए।
भदौ २५ गते गणेशमन्दिर क्षेत्रमा भेटिएका सरोज तिमिल्सिनासँग उनले आफूले लुटेको हतियारबारे बताएका थिए। झापा जान लागेकाले हतियार राखिदिन आग्रह गरे पनि तिमिल्सिना पनि झापा नै जान लागेको भन्दै अस्वीकार गरे। त्यसपछि दुबै जना भदौ २६ गते रात्री बस चढेर लुटिएको हतियार बोकेर झापा पुगे।
प्रहरीको निगरानीमा परेको आशंकामा उनीहरूले ग्राइन्डर मेसिन प्रयोग गरी एउटा पेस्तोलको सिरियल नम्बर मेटाएको अनुसन्धानबाट खुलेको छ। केही दिनपछि तिमिल्सिना काठमाडौँ फर्किए भने पुरीले सिरियल नम्बर मेटाइएको पेस्तोल र १५ राउन्ड गोली दमकस्थित आफ्नै घरमा राखे।
पछि चितवन जानुपर्ने बहानामा पुरीले अर्को एउटा पेस्तोल र पाँच राउन्ड गोली आफ्ना साथी विश्वबन्धु लिङ्देन लिम्बूलाई एक हप्ताका लागि दिए। तर लिम्बूसँग सम्पर्क हुन छोडेपछि प्रहरीको खोजी तीव्र बनेको थियो। सोही क्रममा मंसिर ७ गते पुरी पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ परे।
मंसिर ८ गते दमकमा चिया पसल सञ्चालन गर्दै आएका लिम्बू पनि पक्राउ परे। लिम्बूले उक्त हतियार अस्थायी रूपमा आफ्ना अर्का साथी इलामका पवन हाङसुरुम्बालाई दिएका थिए। बहिनीको विवाहका लागि कुखुरा खोज्न गाउँ जाँदै गर्दा हतियार जिम्मा लगाइए पनि हाङसुरुम्बाले घरमा राख्न असम्भव भएको बताएपछि लिम्बूको आग्रहमा उनले बारीमा खाल्डो खनेर हतियार गाडेका थिए।
पछि प्रहरीले हाङसुरुम्बालाई पक्राउ गर्दा उनले घटनाबारे सबै विवरण खुलाउँदै गाडिएको पेस्तोल र पाँच राउन्ड गोली प्रहरीलाई बुझाएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौँबाट लुटिएको हतियार झापा र इलामसम्म पुर्याएर लुकाइएको यो घटनाको अनुसन्धान चुनौतीपूर्ण थियो। ‘लामो प्रयासपछि संलग्न सबैलाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरिएको छ,’ उनले बताए।
जिल्ला सरकारी वकिल कार्यालयले पुस २ गते हातहतियार तथा खरखजाना र आपराधिक उपद्रव मुद्दामा अभियोगपत्र दर्ता गरेको थियो।
अदालतको आदेशपछि तीनै जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।



कागजपत्र |
