ललितपुरकाे धापाखेल कोलोनीमा इन्जिनियरको हत्या, डेढ महिनासम्म समातिएनन् हत्यारा


ललितपुर-  धापाखेलमा निर्माणाधीन आवासीय कोलोनीमा काम गर्दै आएका भारतीय मूलका वरिष्ठ इन्जिनियर देव कुमारको हत्या भएको खुलेकाे छ। कात्तिक १९ गते उनी निर्माणस्थलको एउटा अधुरो भवनको बाथरूममा मृत फेला परेका थिए।

धापाखेलको कोलोनी निर्माण कार्य चौधरी ग्रुपले गर्दै आएको थियो, जहाँ नेपाली र भारतीय कामदारहरूले काम गरिरहेका थिए। ४६ वर्ष इन्जिनियर देव कुमार लामो समयदेखि सीजी ग्रुपका विभिन्न परियोजनामा डिजाइन इन्जिनियरका रूपमा काम गर्दै आएका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार, हत्यारा पहिलै परिचित व्यक्ति भएकाे र घटना लगत्तै भारततर्फ भागेको आशंका गरिएको छ। प्रहरीले भारतीय प्रहरीसँग समन्वय गर्दै खोजी अघि बढाएको छ।

प्रारम्भिक अनुसन्धानमा हत्या गर्ने क्रममा पीडितको हातखुट्टा तथा मुख बाँधेर टाउकोमा धारिलो हतियार प्रयोग गरिएको खुलेको छ।  एसएसपी बस्नेतले भने, “हत्याराको पहिचान भइसकेको छ, उनको खोजी भइरहेको छ। आवश्यक प्रक्रिया पूरा भएपछि सत्यतथ्य बाहिर आउनेछ।”

प्रहरी अनुसन्धान अनुसार फरार आरोपीका परिवार र मृतक इन्जिनियरबीच मोबाइल सम्पर्क पनि रहेको खुलेको छ। प्रारम्भिक अनुमान अनुसार हत्या आर्थिक कारण भन्दा व्यक्तिगत रिसइबी वा अन्य कारणले भएको हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया