
सिन्धुलीका केशवराजको ललितपुरमा निर्मम हत्या
काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा एक युवकको निर्मम हत्या गरी शव बोरामा पोको पारेर इनारमा फालिएको अवस्थामा फेला परेको छ।
मृत्यु हुनेमा सिन्धुली घर भएका २५ वर्षीय केशवराज हायु रहेको पुष्टि भएको छ। उनको हत्या गरी शव बोरामा बाँधेर इनारमा फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
स्थानीय तरकारी खेती गर्ने किसानहरूले इनार नजिक बोरामा पोको परेको वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनापछि घटनास्थलमा पुगेको प्रहरीले इनारभित्र बोरामा राखिएको शव फेला पारेको हो।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली खटिएको थियो।
बिहीबार बिहान घटनास्थलमै गरिएको अनुसन्धानपछि शवको सनाखत गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। हत्याको कारण र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।



कागजपत्र |
