
ओली प्यानलको वर्चस्व, पोखरेल समूह संकटमा
एमाले महाधिवेशन
काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक मतगणना परिणाम सार्वजनिक हुँदै जाँदा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल समूह कमजोर अवस्थामा देखिएको छ। हालसम्मको मतपरिणामले अध्यक्षसहित अधिकांश पदमा केपी शर्मा ओली प्यानलको स्पष्ट दबदबा देखाएको छ।
हालसम्म १ हजार १३९ मत गणना भइसक्दा अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता लिएका छन्। ओलीले ८४३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले २९६ मत मात्र पाएका छन्। यसले ओली र पोखरेलबीच दोब्बरभन्दा बढी मतान्तर देखिएको छ।
अध्यक्षसँगै पदाधिकारी तहका अधिकांश पदमा पनि ओली प्यानलका उम्मेदवारहरू अग्रस्थानमा छन्। पाँच उपाध्यक्ष पदमध्ये हालसम्म चार जना ओली प्यानलका उम्मेदवार अगाडि देखिएका छन्। उपाध्यक्षका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले सबैभन्दा बढी ९०० मत प्राप्त गरेका छन्। विष्णु प्रसाद पौडेलले ८४६, रामबहादुर थापा ‘बादल’ले ७१४ मत पाएका छन् भने पोखरेल प्यानलका गोकर्णराज विष्टले ७२३ मतसहित प्रतिस्पर्धा कायम राखेका छन्।
महासचिव पदमा पनि ओली पक्षकै शंकर पोखरेल अग्रस्थानमा छन्। उनले ६१३ मत प्राप्त गरेका छन् भने ईश्वर पोखरेल समूहका सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत ल्याएका छन्।
उपमहासचिव पदमा तीन जना निर्वाचित हुने व्यवस्था छ। हालसम्मको गणनाअनुसार ओली समूहका लेखराज भट्ट ७३४ मतसहित सबैभन्दा अगाडि छन्। पोखरेल समूहका योगेश भट्टराईले ७०९ र रघुवीर महासेठले ६८९ मत प्राप्त गरेका छन्। ओलीका विश्वासपात्र विष्णु प्रसाद रिमाल भने ५४० मतसहित पछि परेका छन्। यस आधारमा उपमहासचिव पदमा ईश्वर पोखरेल समूहबाट योगेश भट्टराई निर्वाचित हुने सम्भावना देखिएको छ भने ओली पक्षका रिमालको हारतर्फ संकेत देखिएको छ।
सचिव पदमा ९ जना निर्वाचित हुने व्यवस्था छ भने यस पदका लागि २० जनाको उम्मेदवारी परेको छ। हालसम्मको मतपरिणामअनुसार पद्मा कुमारी अर्याल (७७८), महेश बस्नेत (७८३), छविलाल विश्वकर्मा (७६९), शेरधन राई (७६७), हिक्मत कुमार कार्की (६७२), यमलाल कँडेल (६३६), राजन भट्टराई (५८१), खगराज अधिकारी (५८०) र भानुभक्त ढकाल (५५२) अग्रस्थानमा छन्। यस आधारमा सचिव पदमा पनि सबै ओली प्यानलकै उम्मेदवार निर्वाचित हुने सम्भावना बलियो देखिएको छ।
यसैबीच पोखरेल प्यानलका गोकुल बास्कोटा र कर्णबहादुर थापालगायतका उम्मेदवारहरू पछाडि परेका छन्। समग्र मतपरिणामले अध्यक्षदेखि सचिवसम्म ओली प्यानलको वर्चस्व स्थापित हुने संकेत गरेको छ।
महाधिवेशनमा कुल २ हजार २६३ मतदाता रहेकामा मतगणना जारी छ।



कागजपत्र |
