
प्रहरीलाई कहिले चाहिँदाको भाँडो र कहिले नचाहिँदाको ठाँडो बनाइने अवस्था छ : आईजीपी कार्की
काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले जेनजी आन्दोलनले मुलुकभर सुशासनको आवाज उठाएको बताएका छन्।
आइतबार ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्त तथा ट्राफिक प्रहरी परिसरको भवन पुनर्निर्माणपछि आयोजित हस्तान्तरण कार्यक्रममा बोल्दै आईजीपी कार्कीले सुशासन कायम गर्न कानुनको शासन अपरिहार्य रहेको उल्लेख गरे। उनले सुशासनका लागि प्रहरी मात्र पर्याप्त नहुने र नागरिकहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहने धारणा राखे।
जेनजी आन्दोलनबारे टिप्पणी गर्दै उनले भने, “जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार भनेको मुलुकभर सुशासनको माग हो। सुशासनका लागि कानुनको शासन आवश्यक हुन्छ। कानुनको शासन सुशासनको अभिन्न अंग हो, तर यसको कार्यान्वयनका लागि प्रहरी मात्र काफी हुँदैन, नागरिकको सक्रिय भूमिका पनि त्यत्तिकै आवश्यक पर्छ।”
आईजीपी कार्कीले नागरिकहरूले आफ्नो गाँस कटाएर र व्यक्तिगत समय खर्चेर प्रहरी वृत्तको भवन पुनर्निर्माणमा योगदान गरेकोप्रति प्रशंसा गरे। उनले यस्तो कार्य औपचारिक भवन हस्तान्तरणभन्दा पनि समाज परिवर्तन गर्ने भावना र सोचको प्रतीक भएको बताए।
“नागरिकहरूले आफ्नो व्यक्तिगत काम छोडेर, सुरक्षा पहिलो हो भनेर प्रहरीका लागि भवन बनाएर दिनुभएको छ। भवन हस्तान्तरण त औपचारिक प्रक्रिया मात्रै हो, यसको भित्री भावना नै महत्वपूर्ण हो। समाज परिवर्तन गर्ने यस्ता भावना भएका व्यक्तिहरू आजको समाजलाई अत्यन्तै आवश्यक छन्,” उनले भने।
नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध कायम रहँदा यस्ता संरचना सधैं सुरक्षित रहने उनको भनाइ थियो।
त्यस्तै, उनले राजनीतिक तथा अन्य आन्दोलनका क्रममा प्रहरी संरचनाहरू बारम्बार निशानामा पर्ने गरेको उल्लेख गरे। यसपटक पनि विभिन्न आन्दोलनका क्रममा नेपाल प्रहरीका थुप्रै संरचनाहरू ध्वस्त भएको स्मरण गर्दै उनले विगतका आन्दोलनहरूमा समेत प्रहरीलाई तारो बनाइने प्रवृत्ति दोहोरिँदै आएको बताए। “कहिले चाहिँदाको भाँडो र कहिले नचाहिँदाको ठाँडो बनाइने अवस्था पनि देखिन्छ,” उनले भने।
आईजीपी कार्कीले यस्ता प्रवृत्ति रोक्न तथा शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीबीचको साझेदारी अपरिहार्य रहेकोमा जोड दिँदै सोही दिशामा काम गर्न सबै प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिएका छन्।



कागजपत्र |
