एमालेमा विधान फेरि संशोधन, पदाधिकारी संख्या १९ पुर्‍याइयो


काठमाडौं-  नेकपा (एमाले) ले पार्टीको विधान फेरि संशोधन गर्दै पदाधिकारीको संख्या बढाएको छ। ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार बिहान भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।

संशोधित विधानअनुसार अब एमालेको पदाधिकारी संख्या १९ पुगेको छ। नयाँ संरचनामा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने व्यवस्था गरिएको छ। यसैगरी स्थायी कमिटी ४५ सदस्यीय, पोलिटब्युरो ९९ सदस्यीय र केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने निर्णय गरिएको छ।

स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठकले विधानमा आवश्यक हेरफेर गर्दै पदाधिकारी संख्या १९ कायम गर्ने प्रस्ताव महाधिवेशनमा लैजाने निर्णय गरेको हो। विधान महाधिवेशनबाट अनुमोदन भएपछि तुरुन्तै बस्ने बन्दसत्रमार्फत नेतृत्व चयन प्रक्रिया अघि बढाइनेछ।

यसअघि भदौको अन्तिम साता गोदावारीमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गर्ने र वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको थियो। त्यतिबेला एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्यीय पदाधिकारी संरचना र २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने व्यवस्था गरिएको थियो।

केन्द्रीय कमिटी बैठक सकिएपछि भृकुटीमण्डपमै ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ।

प्रतिक्रिया