बसकाे ठक्करबाट काभ्रेमा पैदल यात्रुको मृत्यु


काठमाडौं- काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको अरनिको सुपर एक्सप्रेस बसको ठक्करबाट काभ्रेमा एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ पातलेगाउँमा बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिँदा स्थानीय ६८ वर्षीय पोतबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीहरूले घटनाको विरोध गर्दै बीपी राजमार्ग अवरुद्ध पारेका छन्। स्थानीयले सडकमा प्रदर्शन गरेपछि काभ्रेभञ्ज्याङ–भकुण्डेबेसी खण्डमा सवारीसाधन सञ्चालन ठप्प भएको छ।

राजमार्ग अवरुद्ध भएपछि उक्त सडक हुँदै पूर्वतर्फ जाने सवारीसाधनहरूलाई धुलिखेलमै रोकिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

प्रतिक्रिया