जंगी अड्डा पुगेर प्रधानमन्त्रीले भनिन्– चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन


काठमाडौं-  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डा निरीक्षण गरी आगामी प्रतिनिधिसभा निर्वाचन २०७९ का लागि सुरक्षा तयारीको समीक्षा गरेकी छन्। उनले नेपाली सेनाबाट हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे विस्तृत जानकारी लिइन्। यस क्रममा निर्वाचन सुरक्षा अन्तर्गत सेना परिचालनको ढाँचा र कार्ययोजना पनि प्रस्तुत गरिएको थियो।

प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठन भएको सरकारको राष्ट्रिय जिम्मेवारीलाई स्मरण गर्दै फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनामा रहेको जिम्मेवारी सफलतापूर्वक पूरा गर्न विश्वास व्यक्त गरिन्। उनले सुरक्षा निकायलाई जनतालाई सुरक्षा प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण र सहयोग गर्न तथा सबै राजनीतिक दलका गतिविधिलाई बिनाअवरोध सञ्चालन हुने वातावरण सिर्जना गर्न निर्देशन दिइन्।

उनले भनिन्, “आगामी चुनावमा एक थोपा पनि रगत नबग्नु र एक जना पनि घाइते नहुने व्यवस्था हुनुपर्छ।” यसैगरी, उनले जेनजी आन्दोलनको क्रममा हराइरहेका वा लुटिएका हातहतियारको खोजी र नियन्त्रणमा प्रहरी तथा अन्य सुरक्षा निकायसँग सहकार्य गर्न र फरार अपराधीको पक्राउमा कुनै कसर बाँकी नराख्न निर्देशन दिइन्।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल र प्रधान सेनापति अशोकराज सिग्देल समेत उपस्थित थिए।

प्रतिक्रिया