
एनपीएलमा अनलाइन सट्टेबाजी: ८ भारतीय नागरिक पक्राउ
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा ८ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बल्खु क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरू अनलाइन बेटिङ साइटमार्फत खेलको हार–जितमा रकम लगानी गर्दै अवैध सट्टेबाजीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ।
पक्राउ पर्नेहरूमा भारतको आन्ध्र प्रदेश, प्रकासम जिल्लाका राजा यदुला (३१), महेश बाबु (३५), पण्डित श्रीनिवासुलु (३०), सेख सोयब (२०), नभिन मड्डेला (३०), महमद रफी सेख (३२), साई कुमार तम्मिसेट्टी (१९) र सेख चन्द बसल (२८) रहेका छन्।
उनीहरूको साथबाट १५ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद मोबाइलबाट थप प्रविधियुक्त अनुसन्धान भइरहेको छ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जानकारी दिएको छ।



कागजपत्र |
