
कास्कीमा विद्यालयकाे जग्गा भाडामा दिने प्रकरणमा आरोपपत्र दायर
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा र भवन निजी बोर्डिङ स्कूललाई गैरकानुनी रूपमा भाडामा दिएको प्रकरणमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अनुसन्धानका क्रममा आयोगले राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा–१, पुरानो टुँडिखेलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, पोखरा महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष साहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू वरुणविक्रम राणा, शोवनाथ भट्टराई, विष्णुमाया लामिछाने, नारायणप्रसाद चापागाईं, साथै अञ्जुली बोर्डिङ स्कूल प्रालिका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनिता कुँवर केसी संलग्न रहेको पाइएको जनाएको छ।
अनुसन्धान अनुसार, विद्यालयको नाममा रहेको ३७–८–०२ (१९०९४.३० वर्ग मिटर) क्षेत्रफलको कित्ता नं. ३४३ को जग्गामा बनेका पूर्वाधारसहितको करिब ४ रोपनी जग्गा र भवन १२ वर्षका लागि निजी सञ्चालित अञ्जुली आवासीय माध्यमिक विद्यालयलाई भाडामा दिने गैरकानुनी निर्णय गरिएको थियो। यसबाट करिब १५ लाख २९ हजार ४ सय ८ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको अख्तियारको ठहर छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, ३(१) को (च) र (घ), दफा १९(२) र दफा २२ बमोजिम दोषी ठहर भएपछि कैद र जरिवानासहित बिगो असुलको मागसहित आरोपपत्र दायर गरेको छ।



कागजपत्र |
