जेनजीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकाहरू एमालेबाट जितेका वडाध्यक्ष


बारा- बाराको सिमरामा जेन–जी समूहका युवामाथि कुटपिट भएको आरोपमा प्रहरीले दुई वडाध्यक्षलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुर–सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष कैमोदिन अन्सारी छन्। दुवै जना नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधि रहेकाे खुलेकाे छ।

बुधबार सिमरामा उत्पन्न तनावपूर्ण घटनाक्रमका क्रममा जेनजी युवामाथि कुटपिट तथा अभद्र व्यवहार गरिएको निवेदन आएपछि जिल्ला प्रहरी कार्यालय बाराले दुवै वडाध्यक्षलाई नियन्त्रणमा लिएको हो। आफूहरूमाथि आक्रमण भएको भन्दै जेनजी अगुवा सम्राट उपाध्यायले  बुधबार नै किटानी जाहेरी दर्ता गरेका थिए।

प्रहरीले किटानीमा समावेश मध्ये दुईलाई मात्रै पक्राउ गरेको भन्दै जेनजी समूहका युवाहरू बिहीबार बिहान १० बजेदेखि फेरि सिमरा चोकमा उत्रिएका छन्। आक्रोशित समूहले टायर बालेर प्रदर्शन थालेपछि सिमरा क्षेत्रमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

 

प्रतिक्रिया