सिमरा दुई दिनदेखि अशान्त


बारा- बाराको सिमरा क्षेत्र बुधबारदेखि नै एमाले कार्यकर्ता र जेनजी समूहका युवाबीच भएको भिडन्तका कारण लगातार तनावग्रस्त बनेको छ। बुधबार भएको झडप, कुटपिट र तोडफोडपछि बिहीबार बिहान पनि जेनजी समूहका युवाहरू सडकमा उत्रिएर विरोध जारी राखेका छन्।

बिहीबार बिहानैदेखि सिमरा चोकमा जेनजी समूहका युवाहरूले टायर बालेर प्रदर्शन गरेका छन्। आफ्ना सहकर्मीमाथि कुटपिट गर्ने एमालेका नेताहरूलाई पक्राउ गर्नुपर्ने माग राख्दै उनीहरूले सिमरामा पुनः विरोध सुरू गरेका थिए। प्रहरी प्रशासन र आन्दोलनकारीबीच बुधबार बेलुका सहमति भएपछि केही समयका लागि सडक सञ्चालनमा आए पनि बिहीबार बिहानैदेखि वातावरण फेरि अशान्त बन्दै गयो।

बुधबार बाराको परवानीपुरमा एमालेले मधेस प्रदेशस्तरीय जनजागरण सभा आयोजना गरेको थियो। उक्त सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल, युवा नेता महेश बस्नेतलगायत शीर्ष नेताहरू विमानमार्फत सिमरा आइरहेका थिए। उता, एमाले नेताको विरोध गर्न जेनजी समूहका युवाहरू सिमरा चोकमा भेला भएका थिए भने एमालेका समर्थक युवाहरू आफ्ना नेताको स्वागतका लागि विमानस्थलतर्फ जाँदै थिए। यसै क्रममा दुई पक्षबीच विवाद चर्किएर झडपमा परिणत भएको प्रहरीले जनाएको छ।

झडपका क्रममा एमाले सम्बद्ध कार्यकर्ताको आक्रमणबाट जेनजी बाराका संयोजक सम्राट उपाध्याय घाइते भएका थिए। घटनापछि आक्रोशित जेनजी समूहका युवाहरू विमानस्थल गेट तोडफोड गर्दै भित्र प्रवेश गरे र विमानस्थल कार्यालयतर्फ ढुंगा तथा बोतल प्रहार गरे। भीड नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले दुई राउन्ड अश्रुग्यास प्रहार गरेका थिए। विमानस्थलबाट फर्किएपछि जेनजी युवाहरूले फेरि सिमरा चोकमै टायर बालेर दिनभर प्रदर्शन गरेका थिए।

स्थिति नियन्त्रण गर्न प्रशासनले कर्फ्यूजस्तै कडाइ गरे पनि दिनभरै जेनजी प्रदर्शनकारी र स्थानीय समर्थकहरूको ठूलो भीड सिमरा क्षेत्रमा देखिएको थियो। झडपपछि सम्राट उपाध्यायले घटनामा संलग्न व्यक्तिहरूको नाम समेत उल्लेख गरी किटानी जाहेरी दर्ता गरेका थिए।

प्रहरीसँगको समझदारीअनुसार जेनजी युवामाथि कुटपिट आरोप लागेका एमाले कार्यकर्तालाई बिहीबार बिहान १० बजेसम्म प्रहरी कार्यालयमा उपस्थित गराउने प्रतिबद्धता भएपछि मात्र आन्दोलनकारी युवाहरूले बुधबार साँझ साढे ६ बजेदेखि प्रदर्शन रोक्का गरेका थिए। सोही समझदारीअनुसार बिहीबार किटानी अनुसार दुवै घटना मिलेर कुटपिट, अभद्र व्यवहार र तोडफोडमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पक्राउ पर्नेमा जीतपुरसिमरा–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का वडाध्यक्ष कैमुदिन अन्सारी रहेका छन्।

यता, एमाले जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोकविक्रम शाहले पार्टी कार्यक्रम भाँड्ने उद्देश्यले फरक विचारका युवाहरूले अवरोध सिर्जना गर्दा अवस्था बिग्रिएको दाबी गरेका छन्।

प्रतिक्रिया